शुभ अवसर ग्राम नेपालको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ
शुभ अवसर ग्राम नेपाल (ओभीएन)ले सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । महिला तथा बालबालिकाको अधिकार संरक्षण तथा प्रवर्द्धन गर्दै आएको सामाजिक संस्थाले गरेको सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । २०५५ सालमा स्थापना भएको उक्त संस्थाले बेचबिखन, यौन शोषण, यौन दुब्र्यबहार तथा हिंसाबाट प्रभावित वा सोको उच्च जोखिममा रहेका बालिका, किशोरकिशोरी तथा महिलाहरूको अधिकारको संरक्षण, पुनर्स्थापना र पुनः एकीकरणमा काम गर्दै आएको छ ।महिला तथा किशोर किशोरीहरूलाई व्यावसायिक परामर्श सेवा, तालिम, शिक्षा, आवास, जीवनयापनका लागि रोजगारीको अवसर समेत प्रदान गर्दै आएको छ ।कास्की, रूपन्देशी र काठमाडौँ गरी तीन जिल्लामा आफ्ना गतिविधिहरू गर्दै आएको संस्थाले विभिन्न कार्य गर्दै आएको छ । कास्कीको हेम्जामा बाल संरक्षण गृह, काठमाडौँ र कास्कीमा मानव बेचिनिखन विरुद्धको परियोजना र रुपन्देहीमा सीमा पार मानव बेचबिखन विरुद्धको परियोजना सञ्चालन गर्दै आएको छ ।बाल संरक्षण गृह कास्कीमा बस्ने बालबालिकाको गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, मनोचिकित्सक सेवा, जीवनोपयोगी सीप र व्यवसायीक तालिम प्रदान गर्दै आएको छ । त्यस्तै बाल गृहमा बस्ने केटीहरूलाई घरेलु वातावरण (प्रेम र हेरचाह) र सम्मानजनक वातावरण समेत प्रदान गर्दै आएको छ ।जोखिममा रहेका २० देखि २५ बालिकाहरूलाई हेरचाह र सुरक्षा समेत प्रदान गर्दै आएको छ । त्यस्तै परिवार र समुदायमा पुनः एकीकरण भएकाहरूलाई हेरचाह र सुरक्षा समेत प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।
त्यस्तै मानव बेचबिखनविरुद्धको परियोजना अन्तर्गत युवा र बालबालिकालाई सशक्त बनाई आफ्ना अधिकारको लागि लड्न र मानव बेचबिखन र यौन शोषणको रोकथाम गर्न उत्प्रेरित गर्दै आएको छ ।
काठमाडौँमा रहेको एन्टी ह्यूमन ट्राफिकिङले मनोरञ्जन क्षेत्रमा संलग्नता, शोषित र मानव बेचबिखनको जोखिममा रहेका युवती र किशोरीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्य गर्दै आएको छ ।
बेचबिखनमा परेकाहरूलाई मनोसामाजिक परामर्श समेत प्रदान गर्दै आएको छ । मानव बेचबिखनको सिकार भएका महिला तथा बालबालिकालाई सुरक्षित स्थानको सिर्जना गरी पुनर्स्थापना समेत गर्दै आएको छ ।
स्थापनाको २५ औँ वर्ष पुरा गरेको संस्थाले २५ औँ साधारण सभा तथा ११ औँ अधिवेशन समेत सम्पन्न गरेको थियो ।