शुभ अवसर ग्राम नेपालको सामाजिक परीक्षण सम्पन्न
काठमाडौँ । शुभ अवसर ग्राम नेपालको सामाजिक परीक्षण सम्पन्न भएको छ । आइताबार काठमाडौँमा ग्रामद्वारा आयोजित कार्यक्रमबीच सामाजिक परीक्षण सम्पन्न भएको हो।
संस्थाले गरेका विविध गतिविधिलाई पारदर्शी ढङ्गले हरेक वर्ष लेखा परीक्षण गराएर सामाजिक परीक्षण कार्यक्रम गर्दै आएको जानकारी गराएको छ ।
कार्यक्रममा शुभ अवसर ग्रामका अध्यक्ष सानु अमात्यले परियोजनाहरू ल्याएर संस्थाले पारदर्शी ढङ्गले नेपाली किशोरीको सशक्तिरकणमा गरिएको लगानीकै कारण सन्तोषजनक प्रतिक्रिया संस्थाले पाएको बताए ।
महिला, बालबालिका बेचबिखन विरुद्धको समूह एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङले एटविनमा आबद्ध ४५ वटा सामाजिक सङ्घ संस्थामध्येको एक शुभ अवसर ग्राम नेपालको कामलाई आफूले स्थलगत रूपमै हेर्ने र अनुभव गर्ने अवसर पाएको र संस्थाले आफ्नो लक्ष्य र उद्देश्य अनुरूप काम गरिरहेको बताइन् ।
कार्यक्रममा शुभ अवसर ग्रामबाट तालिम तथा व्यवसाय सञ्चालनका लागि सहयोग पाएका किशोरीहरूले आ-आफ्नो धारणा व्यक्त गर्दै संस्थाले सञ्चालन गरेको कामबाट आफूहरूलाई पुनः समाजमा पुनर्स्थापना हुन र आत्मनिर्भर हुन सहयोग पुगेको बताए ।
महिला तथा बालबालिकाको आधारभूत अधिकार, आर्थिक सशक्तीकरण, सामाजिक न्यायको प्रत्याभूतिका लागि वि.स. २०५५ सालमा स्थापना भएको शुभ अवसर ग्रामले मानव बेचबिखनमा परेका र मनोरञ्जनको क्षेत्रमा काम गर्ने किशोरीको सशक्तीकरणका लागि काम गर्दै आएको छ ।
शुभ अवसर ग्राम नेपालको सामाजिक परीक्षण सम्पन्न – Online Khabar