रूपन्देहीका सीमा क्षेत्र र भारतका विभिन्न सहरबाट २८८ जनाको उद्धार

रूपन्देहीका सीमा क्षेत्र र भारतका विभिन्न सहरबाट २८८ जनाको उद्धार

भैरहवा– रुपन्देहीका सीमा क्षेत्र र भारतका विभिन्न स्थानबाट २ सय ८८ जनाको उद्धार गरिएको छ । अन्तरसीमा मानव बेचविखनविरुद्धको परियोजना शुभ अवसर ग्राम नेपाल, परियोजना कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८०–०८१ मा उक्त संख्यामा महिला र पुरुषको उद्धार गरेको हो । उद्धार गरिएकामा २ सय २८ जना महिला र ६० जना पुरुष छ ।

परियोजनाको भैरहवा शाखामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परियोजनाका भैरहवा शाखा संयोजक सत्यनारायण यादवले दलालहरुको विभिन्न प्रलोभनमा पारेर नेपाली दिदीबहिनीलाई भारतका विभिन्न सहरमा लैजाने र यौनशोषण लगायत घरायसी काममा लगाउने गरेको जनाए । ‘आकर्षक तलबको आश्वासन दिने र भारतमा पुर्याएर बेचविखन गर्ने गरिएका थुप्रै उदाहरण छन्’, उनले भने, ‘केहीलाई हामीले भैरहवाका होटलहरुमा बन्धक बनाइएको अवस्थामा पनि उद्धार गरेका छौं ।’

परियोजनाका अनुसार उद्धार गरिएकामध्ये सुरक्षित आवास गृह सेवा लिएका १ सय ८५ जना छन् । यसमा १ सय ८० जना महिला, बालिका तथा किशोरीहरु छन् भने ५ जना बालकहरु छन् । यस्तै गत आवमा २ सय १९ जना उद्धार गरिएकाहरुलाई पारिवारिक पुनर्मिलन गराइएको छ । ‘हाम्रोमा अन्य सेवाप्रदायकहरुको रिफरल ६१ ज्ना आउनुभएको थियो,’ उनले भने, ‘उहाँहरुलाई सुरक्षित आवास, पारिवारिक मिलन लगायतका काम गिरिएको छ ।’

उद्धार गरिएका २३ जनालाई सीपमूलक तालिम प्रदान गरिएको छ । यस्तै, १४ जनालाई आर्यआर्जनका लागि बीउपूँजी सहयोग गरिएको यादवले बताए । सीमामा खटिएर मानव वेचविखनविरुद्ध काम गरिरहेको उक्त संस्थाले यस वर्ष सरकारका विभिन्न निकायसँगको सहकार्यमा भारतको कस्मिरमा बधुवा मजदुर बनाइएका ६३ जनाको दुई चरणमा गरेर उद्धार गर्न सफल भएको छ । ‘खासगरी हामीले महिलाहरुको क्षेत्रमा काम गर्ने भए पनि आवश्यकताको आधारमा अप्ठ्यारोमा परेका पुरुषहरुको पनि उद्धार गरेका छौं’, यादवले भने ।

परियोजनाको भैरहवा कार्यालयले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको कालीदह–कक्रहण र रोहिणी गाउँपालिकाको खनौतिया–भगवानपुर नाकामा बेचविखनविरुद्ध काम गर्दै आएको छ । यस्तै, सीमा क्षेत्रमा १३ वटा समूह बनाएर ती समूहमा आबद्ध १ सय ६९ जना युवायुवतीले मानव बेचविखनविरुद्ध काम गर्दै आएको यादवले बताए । ‘हामीले साना बालबालिकादेखि बृद्ध अवस्थामा पुग्दै गरेकासम्मलाई उद्धार गरेका छौं’, परियोजनाका भैरहवा कार्यालय संयोजक यादव भन्छन्, ‘खासगरी बढी मात्रामा २०–२५ वर्ष उमेर समूहका युवतीहरु विभिन्न प्रलोभनमा परेर दलालको फन्दामा पर्ने गरेको हामीले पाएका छौं ।’

परियोजनाका विकास देवकोटाले उद्धारसँगै सामुदायिक पुनःउत्थान र उद्धार गरिएकाहरुलाई आयआर्जनका लागि सहयोग गर्दै आएको जनाए । ‘परियोजनामार्फत् हामीले कयौं फकाएर, झुक्याएर भारततर्फ लगिँदै गरेका, भारतमा बेचिएका, यौनधन्दामा लगाइएका बालिका, किशोरी, युवती र अधबैंसे महिलाहरुलाई उद्धार गरेर आफन्तको जिम्मा लगाएका छौं, कयौंलाई आयआर्जनका लागि पनि सहयोग गरेका छौं’, देवकोटाले भने, ‘यसरी उद्धार गरेर ल्याइएका अधिकांश महिलाहरु अहिले खुशी हुनुहुन्छ, धेरै त परियोजनाको सहयोगमा स्वरोजगार पनि बन्नु भएको छ ।’ उद्धार गरिएकाहरुलाई संस्थामा सेल्टरमा राखेर आफन्तको जिम्मा लगाउने गरिएको छ ।

Sources: https://publickura.com/main-news/84858/